
खोटाङ । सुक्खाग्रस्त क्षेत्र हलेसी आसपासका स्थानीय बासिन्दालाई घरघरमा खानेपानी उपलब्ध गराउने गरी विसं २०७४ असार २१ गतेबाट बृहत दूधकोशी पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । विसं २०७६ पुस १७ गतेसम्ममा निर्माणको सम्पूर्ण काम सम्पन्न गर्ने गरी दिवा–महादेव खिम्ती निर्माण कम्पनीले जिम्मा लिएको उक्त आयोजनाको काम अझै सम्पन्न भएको छैन ।
दूधकोशी नदीको पानी पम्पिङमार्फत गाउँमा निकालेर घरघरमा वितरण गर्ने उद्देश्यले सुरु गरिएको आयोजनाको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको देखिएको छ । हलेसी क्षेत्रका करिब तीन हजार ७५६ घरधुरी स्थानीय बासिन्दालाई वितरण गर्ने लक्ष्य राखिएको बृहत् खानेपानी आयोजनाको काम तोकिएको समय बितेको दुई वर्ष बित्न लाग्दासमेत ८२ प्रतिशतमात्र काम सम्पन्न भएको पाइएको छ ।
दूधकोशीको पानीलाई पम्पिङ गरेर हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र वडा नं ७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मुख्य लाइनको ठेक्काको समयसीमा सकिएको १९ महिना बितिसकेको छ । यस्तै भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्न लागिएको पानीलाई वडा–वडामा वितरण गर्ने कामको समयसीमा सकिएको कम्तीमा १३ महिना बितिसकेको सम्झौतामा उल्लेख छ ।
मुख्य प्रसारण लाइनबाट वितरण लाइनसम्मको काम करिब ७५ प्रतिशमात्र सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका प्रमुख हिराकाजी महर्जनले जानकारी दिए । नगरपालिकाका सात वडाका स्थानीय बासिन्दाको खानेपानीको विकराल समस्या हल गर्न रु ९६ करोडभन्दा बढीको बृहत् पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको हो ।
दूधकोशी नदीको पानी गाउँमा निस्कने आशामा बसेका स्थानीय बासिन्दा ठेकेदार कम्पनीको लापरवाहीका कारण आयोजनाको काममा ढिलासुस्ती भएपछि आजित बनेका छन् । विसं २०७४ असार २१ गतेबाट सुरु गरिएको आयोजना निर्माणको काम अहिले ठप्प रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
विसं २०७६ पुस १७ गते नै समयसीमा सकिएको मुख्य प्रसारण लाइनको कोभिड–१९ का कारण देखाउँदै गत असार मसान्तसम्म म्याद थप गरिएको थियो । गत असार मसान्तसम्मको समयसीमा सकिएपछि पुनः कोभिड–१८ कै कारण देखाएर छ महिनाको दोस्रो समयसीमा थपको प्रक्रिया अघि बढाइएको छ ।
दिवा–महादेवले खिम्तीले दूधकोशीको पानीलाई महादेवस्थानको भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्नुपर्ने सम्झौता छ । दूधकोशी किनारको महादेवबेँसीबाट काभ्रेडाँडा र लुलिमाबाट भुम्जुडाँडामा पानी निकाल्न उक्त कम्पनीले जिम्मा लिएको हो ।
सम्झौताअनुसार दिवा–महादेव खिम्तीले ट्याङ्की निर्माण, पाइप लाइन, विद्युतीकरण, ट्रान्सफर्मर जडानलगायतका काम गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माण कम्पनीले खानेपानी आयोजनामा अपेक्षित र सन्तोषजनक प्रगति देखाउन नसकेको भन्दै नगरप्रमुख इवन राईसहित हलेसी क्षेत्रका नेताको टोलीले विसं २०७६ भदौमा तत्कालीन खानेपानीमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार