
बेनी–दरबाङ सडक निर्माणको मुख्य ठेकेदार पाँच महिनापछि काममा फर्किएको छ । जिल्लाको रणनीतिक महत्वको सो सडक खण्डलाई सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको थियो । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पूर्णता दिन मुख्य ठेकेदारले बल्ल काम सम्हालेका हो ।
समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधि दयाराम थापा गत चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो । मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका इञ्जिनीयर महेन्द्र शाहले सडक निर्माणलाई पूर्णता दिने गरी काम शुरुआत गरेको जानकारी दिए ।
“यही भदौ पहिलो हप्तादेखिनै ४० मजदूर, छ स्काभेटर, चार टिपर, एक ट्र्याक्टर र एक ब्याकुहोलोडरले काम गरिरहेका छन्”, उनले भने, “आगामी वैशाख महिनाभित्र कालोपत्रे गर्ने लक्ष्यसहित उपकरण र मजदूरको सङ्ख्या बढाएर फरक–फरक ठाउँमा परिचालन गर्दैछौँ ।”
बाह्र किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइका दरले कालोपत्रे गर्ने जनाइएको छ । विसं २०७४ असोज ४ गते रु। ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका इञ्जिनीयर सन्तोष अर्यालले पछिल्लो पटक आगामी चैत महिनासम्म ठेक्काको म्याद थपिएको जानकारी दिए ।चोथौ पटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदूर र उपकरण परिचालन तथा सामग्री जुटाउन नसक्दा ढिलाइ भएको हो । म्याग्दीको ‘लाईफ लाइन’ मानिने २०६३ मा मार्ग खुलेको बेनी–दरवाङ सडक बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । बेनी–तातोपानी खण्डको सडक विस्तार गरेर अधिकांश ठाउँमा बेस राखेको थियो ।
बाँकी रहेको नाली, पर्खाल निर्माण र पहिरो पन्छाउने काम सुरु गरेको ठेकेदार कम्पनीका इञ्जिनीयर शाहले बताए । बर्खा रोकिएपछि बेनी–तातोपानी खण्डमा कालोपत्रे र तातोपानी–सिम खण्डमा विस्तार, पर्खाल र नाली निर्माण सुरु गर्ने उनले बताए ।
तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो ।
कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । मङ्गला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको तयारी गरेको कार्यालयका इञ्जिनीयर सञ्जय सुवेदीले बताए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार