खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण

काठमाडौं । राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको छ । दिउँसोका समयमा पनि २०० मेगावाट बिजुली जगेडामा परेको छ । कुनै समय एक युनिट बिजुलीका लागि पनि ठूलो सङ्घर्ष गर्नुपरेको थियो । यतिबेला वर्षाको मौसम पनि छ । सोही कारण प्रणालीमा बिजुली फालाफाल छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार माथिल्लो तामाकोशी जोडिएपछि वर्षाकालमा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ ।आत्मनिर्भर भए पनि ठूलोमात्रामा दैनिक बिजुली खेर जाँदा त्यसले राम्रो गरेको छैन ।

दैनिक रु चार करोड बराबरको घाटा प्राधिकरणलाई लागिरहेको छ । यस्तो बेलामा बढी भएको बिजुली भारततर्फ निर्यात गर्नु नै नेपालको हितको विषय हुन जान्छ । तर, भारत सरकारको तर्फबाट कुनै सहमति प्राप्त हुन सकेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले हालै गर्नुभएको भारत भ्रमणका क्रममा बढी भएको बिजुलीको सहज बजार प्रवेशका लागि भारतीय अधिकारी समक्ष आग्रह गरेका छन् ।

नेपालमा बढी भएको बेला भारतमा, नेपाललाई चाहिएका बेला भारतबाट आयात गर्ने विषयमा भारतीय अधिकारीसँग घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले छलफल गरेको छ । प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढिरहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको विहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदान गर्ने प्रस्ताव गरेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडसँग पारस्परिक मौसमी विद्युत् आदानप्रदानको प्रस्ताव गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदानप्रदान हुँदै आएको छ ।

बर्खाका ६ महिना नेपालबाट विद्युत् विहार पठाउने र हिउँदका छ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत् आदानप्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । “बर्खाका महिनामा २४ सै घण्टा २०० मेगावाट एवं राति ११ बजेदेखि बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, बर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युत्को मूल्य तय गरिनेछ”, उनले भने ।

– रासस

फेसबुक प्रतिक्रिया