
म्याग्दी । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीको सेवा प्रभावित हुन थालेको छ ।जिल्ला प्रशासन कार्यलयमा जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएका अवस्थामा सेवा पनि बन्द हुन थालेको हो । विद्युतीय उपकरणको प्रयोग र इन्टरनेटको सहायताले गरिने सबै काम ठप्प हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बताए ।
“अधिकांश काम कम्प्युटर र इन्टरनेटबाट गर्नुपर्छ”, उनले भने, “विद्युत् आपूर्ति नहुँदा समस्या भएको छ ।”आइतबार अपराह्न झरी परिरहेका अवस्थामा कार्यकक्षमा अँध्यारो भएपछि उनी मोबाइलको टर्च बालेर कागजपत्र प्रमाणित गर्दै थिए।
कम्प्युटरमा टाइप गर्न बिजुली नभएपछि अन्य कर्मचारीले अतिआवश्यक काम हातले लेखेर गरिरहेका थिए । बागलुङ र पर्वतका सिमानामा पोल ढल्दा आइतबार दिउँसो १ देखि ५ बजेसम्म म्याग्दीमा विद्युत् आपूर्ति बन्द भएको थियो । जिल्लामा विद्युत् आपूर्ति अनियमित हुने समस्या छ ।भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेबाट श्रीमतीको नागरिकता बनाउन आउनुभएका ताराप्रसाद छन्त्यालले समयमा काम नहुँदा थप दुई दिन बेनी बस्नुपर्ने अवस्था आएको गुनासो गरे ।
“सानो बच्चासहित श्रीमतीलाई लिएर मध्याह्न१२ः३० मा आएका थिऔँ”, उनले भने, “बिजुली छैन भनेर दिनभरि काम गरेनन् । आज बिदा छ । आइतबारै काम सकेर फर्कने योजना थियो । मङ्गलबारसम्म बेनी बस्नुपर्ने भयो ।”
जनजातिको प्रमाणपत्र बनाउन आएकी मालिका गाउँपालिका–५ देवीस्थानकी हेमा रानामगरले दिनभरि कुरेर काम नभएपछि त्यसै फर्कनुपरेको गुनासो गरिन्।“बिजुली छैन भनेर काम गरेनन्, वैकल्पिक व्यवस्था रहेनछ”, उनले भनिन्, “यस्तो महत्वपूर्ण कार्यालयमा विद्युत् आपूर्तिको विकल्प नगर्दा नागरिकलाई सास्ती भयो ।”
नागरिकताको प्रतिलिपि बनाउन आएका देवीस्थानकै सुरत पुनले पनि कामै सम्पन्न नभइ फर्कनुपरेको गुनासो गर्नुभयो । नागरिकता वितरण, सिफारिस, संस्था दर्ता, नवीकरणलगायतका काम लिएर प्रशासनमा पुग्ने सर्वसाधारण मर्कामा परेका छन् । संवेदनशील विषयमा हुने सूचना आदानप्रदान गर्न पनि समस्या भएको कर्मचारीले बताएका छन् । करिब एक महिनादेखि विद्युत् आपूर्तिमा समस्या भएको बताइएको छ ।
विसं २०७६ मा जडान गरिएको सोलार, ब्याट्री र इन्भटर बिग्रिएपछि समस्या भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । “वारेन्टीको म्याद अझै दुई वर्ष रहेछ । आपूर्तिकर्तालाई तत्कालै मर्मत गर्न निर्देशन दिएका छौँ”, उनले भने, “सोलारबाट चार्ज गरेर ब्याट्री र इन्भटर बनाउन घाम नलागेपछि प्राविधिक हिसाबले समस्या भयो ।”
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार