
कवि अमृत अधिकारी
आकाशको एक्लो खुर्पे चन्द्रमालाई सोध्छु
किन मुस्कुराउँदैन सगरमाथा अचेल ?
किन रुन्छन् खुम्बु र लाङ्टाङ् ?
लालीगुराँसका थुङ्गाहरुबाट एकाएक कता बिलायो मुस्कानको रङ् ?
खैँजडी , मुर्चुङ्गा र बिनायोको धून किन सुनिदैनन् बस्तीहरुमा अचेल ?
किन गाईंदैँनन् सालैजु भाकाहरु ?
किन शून्यशून्य छन् रोधीघरहरु ?
किन भेटिँदैनन् घाटुलीहरु ?
किन बज्दैनन् खर्कमा चरिरहेका चौँंंरीका सिन्द्रीहरु ?
तिनै फाँटमा नाच्ने डाँफे चरी ,
कुहुकुहु आवाजमा वनै गुन्जाउने कोइली चरी ,
किन गाउँछन् विरहका गीत ?
किन मलिन छन् तिनका अनुहार ?
चन्द्रमाकाे मौनव्रत यथावत छ ।
बिहान लाली चढ्दै गर्दाको सूर्यलाई सोध्छु
खोइ गाइने दाजु ?
सारङ्गीको भाका नसुनेको पनि कत्ति भइसक्यो ,
पर खारखोला पारिको भीरमा
एैँसेलु र काफल किन बोटमै रहन्छन् ?
कता हराए,
सालको पातको सुसेलीमा वनै गुञ्जाउने गोठालाहरु ?
खोइ ती नानीहरुलाई ताते गराउने हात ?
खोइ जिम्मलबाको घरमा देखिने रौनक ?
किन चौतारीमा धुम्धुम्ती टोलाई बस्छन् जिम्मलबा ?
उदाउँदा–उदाउँदै बादलमा बेरिएको सूर्य मौन छ ।
सूर्यास्तपछि क्षितिजमा टिलपिलाउने ताराहरुलाई सोध्छु
किन गाउँघरमा औँसीमात्र हुन्छ अचेल ?
किन लागिरहन्छ सूर्यग्रहण ?
किन मुस्कुराउँदैन गाउँवस्ती ?
किन बढ्दैछ नदीहरुमा आँसुको अनुपात ?
कालो बादलभित्र हराउँदै गरेका ताराहरु पनि मौन छन् ।
हिजो विमानस्थलको गेटबाट धपाउँदै गर्दा
राज्यनिर्माणका जनशक्ति
रेमिट्यान्सको आशामा फिस्स मुस्कुराउँथ्यो
र गर्व गथ्र्यो आफ्नो व्यापारमा,
ऊ पनि चुहाइरहेको थियो गोहीको आँसु
म सोध्छु ,
किन महाशय यो विलाप ?
जतिबेला मेरो मनमा प्रश्नका हज्जारौँ सन्तानहरु जन्मिदै थिए ,
ठिक त्यतिबेला
उत्तरको हुँकार मडारिएर आउँदै थियो
नेपाली वायुसेवाको विमानबाट
काठको बाकसमा ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार