
म्याग्दी । बेनी नगरपालिका–६ नेपानेमा प्रक्रिया पूरा नगरी अनुमति विना बाल विकास केन्द्र सञ्चालन भएको छ । जनप्रतिनिधिले आफू अनुकूलका व्यक्तिलाई मापदण्ड र प्रक्रिया पूरा नगरी बालविकास सहयोगी कार्यकर्ता नियुक्त गरी तलबभत्ता र शैक्षिक सामग्री खरिदमा चलखेल गरेका आरोप लागेको छ । २०७४ देखि २०७७ सालसम्म वडा नं ६ को सिफारिसमा बेनी नगरपालिकाले वार्षिक रु एक लाखका दरले नेपाने बालकक्षामा खर्चेको छ ।
मासिक रु छ हजारका दरले तलब पाउने गरी नेपानेकी मनिषा दमैलाई केन्द्रको सहयोगी कार्यकर्ता नियुक्त गरिएको छ । स्थानीय तह सञ्चालन निर्देशिकाअनुसार वडालाई शिक्षक, बाल शिक्षा सहयोगी कार्यकर्ता नियुक्त गर्ने अधिकार छैन ।
व्यवस्थापन समिति हुनुपर्ने, सम्बन्धित पालिकाबाट अनुमति लिनुपर्ने, प्रतिस्पर्धाबाट नियुक्त गरिएका सहयोगी कार्यकर्ताको तलबभत्ता, प्रशासनिक र मसलन्द खर्च मातृ विद्यालयमार्फत भुक्तानी हुने नीतिगत व्यवस्था सो बालविकास केन्द्र सञ्चालनमा कार्यान्वयन भएको छैन ।
नेपानेकी सहयोगी कार्यकर्तालाई बेनी नगरपालिकाले गत असार अन्तिम साता चेकमार्फत २०७७ साल पुषदेखि २०७८ असारसम्मको तलब बापतको रु ४१ हजार पाँच सय ८० भुक्तानी गरेको छ । गत आर्थिक वर्षमा रु एक लाख विनियोजन भएको थियो । असार २३ अघि पारिश्रमिक र मसलन्दका लागि भनेर रु ४७ हजार आठ सय भुक्तानी भएको छ ।
वडाध्यक्ष कृष्णसिंह बानियाँले वडाले बालविकास केन्द्र सञ्चालनका लागि विसं २०७४ मै नगरपालिकामा सिफारिस गरेको र सहयोगी कार्यकर्ताले नै विनियोजित बजेट लगेको बताए । “जो मान्छेले त्यहाँ पढाउँछ उसैले पैसा लगेको छ,” उाले उल्टै प्रश्न गरे, “आफैँले अनुमति नै नदिएको बालकक्षालाई नगरपालिकाले किन भुक्तानी दियो ?” डम्मरामा पनि यस्तै शैलीमा सञ्चालन भएको बाल विकास केन्द्रका नाममा नगरपालिकाले गत आर्थिक वर्षको अन्तमा रु एक लाख भुक्तानी गरेको छ ।बालकक्षा सञ्चालन भएको भनिएको राममन्दिर आमा समूहको भवनको कोठामा सिमेन्ट, पाइप, गुन्द्री, गल, घन, बेल्चालगायत निर्माण सामग्री थुपारिएको छ ।
दुईवटा ह्वाइट बोर्ड, एक टेबुल, बाल्टी र भित्तामा केही थान सिकाइ सामग्री मात्र भेटियो । नेपानेका बासिन्दाले बाल विकास केन्द्रको प्रभावकारिता र लगानीको उपलब्धिको विषयमा खुलेर प्रशंसा गर्ने अवस्था नरहेको बताएका छन् । स्थानीयवासी विमल थापाले सुरुमा सञ्चालन भए पनि अहिले सक्रिय भएको नदेखेको र समुदायले पनि चासो नदिएको गुनासो गरे । हिउँदमा सञ्चालन भए पनि अहिले बालकक्षा बन्द रहेको स्थानीयवासी सर्वजीत खत्रीले बताए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार