
कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत विभिन्न पहाडी जिल्लामा जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल कैलालीमा पनि आजबाटै सुरु भएको छ ।भदौ १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । जेठो पर्वका रुपमा मनाइने यो पर्वको तयारीका लागि सामग्री किनमेल गर्न बजारका पसल–पसलमा स्थानीयवासीको भीडभाड देखिन्छ । विभिन्न थरीका खाना पकाउनका लागि सामग्री किनमेल गर्न महिला गृहिणीलाई भ्याइनभ्याइ छ ।
कोरोना सङ्क्रमणको जोखिम हुँदाहँदै पनि बजारका किराना तथा तरकारी पसलमा सामाजिक दूरी कायम नगरी सामान किन्ने ग्राहकको पुरानो अवस्थामा झै उत्तिकै चाप देखिन्छ । गाउँघरतिर स्थानीय कुटानीपिसानीका लागि मिल धाउने काममा मानिसहरु व्यस्त देखिन्छन् । त्यस्तै घर आँगन सरसफाइ गर्ने, लत्ताकपडा धुने लगायतका क्रियाकलापमा उनीहरु जुटेको पाइन्छ ।
यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दूध, दही, मही र पिँडालुको गाभा दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहिआएको धनगढी उपमहानगरपालिका–२ का स्थानीय पुरोहित कृष्णराज जोशीले बताए।
“गाउँ घरतिर जसका घरमा गाई भैँसीको दूध, दही, मही हुँदैन त्यस घरमा दूध, दही, महीलगायत बाँड्ने चलन छ”, पुरोहित जोशीले भने “जसलाई हाम्रो स्थानीय गाउँघरको भाषामा ‘गोरस्’ अर्थात ‘सितन’ भन्ने गरिन्छ ।” विषेशगरी यस पर्वका दिन विवाहित छोरीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाँडो, मासे माणालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।
यस पर्वमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, स्थानीय लोक भाकामा गीत गाउनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् । शहरमा भने यो चाडको महत्व केही मात्रामा घट्दै गएको स्थानीयवासीको भनाइ छ ।
सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्वका बारेमा हिजोआज बुढ््यौली तथा पाको उमेरका मानिस जानकार रहे पनि नयाँ पुस्ता भने यसको महत्व र विशेषताबारे खासै जानकार नभएको स्थानीय अगुवा भक्तराज ओझा बताए। यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गढवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार