काठमाडौँ । आज (शुक्रबार)देखि नेपाली हलहरूमा एकसाथ तीन नयाँ फिल्म प्रदर्शनमा आए छन् । फिल्म हुन्– गुरुआमा, मालती मंगले र लालीबजार । यी तीनै फिल्म फ्राईडे रिलिजको परम्परा धान्दै एकसाथ प्रदर्शनमा आएका हुन् ।
तीनै फिल्मका कथावस्तु र कलाकारहरू फरक–फरक छन् । तीनमध्ये गुरुआमा र मालती मंगले पूर्वनिर्धारित मितिमै आएका हुन् भने लालीबजार विवादका कारण अघिल्लो शुक्रबार प्रदर्शन हुन नपाएर आजबाट रिलिज भएको हो ।
लालीबजार उच्च अदालत पाटनले प्रदर्शनमा रोक लगाउन दिएको अल्पकालीन अन्तरिम आदेशपछि अघिल्लो शुक्रबार रिलिज हुन नपाएर आजबाट प्रदर्शनमा आएको हो । बादी समुदायको कथामा आधारित यस फिल्मलाई बुधबार उच्च अदालत पाटनले प्रदर्शनका लागि खुला गरेको हो । षड्कोण आर्ट्सले निर्माण गरेको यो फिल्ममा स्वस्तिमा खड्काले बादी समुदायकी महिलाको भूमिका निर्वाह गरेकी छिन् ।
फिल्ममा स्वस्तिमाका अलावा रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, बाल कलाकार समाइरा थापा र डेब्यु कलाकारहरू विशाल देवकोटा र प्रशंसा सुवेदीको अभिनय छ । फिल्म यम थापाले निर्देशन गरेका हुन् । निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराइ रहेको फिल्मको बिहिबार साँझ प्रिमिएर गरिएको थियो । जसमा कलाकर्मी तथा रंगपत्रकारको उल्लेख्य सहभागीता थियो । प्रिमिएरमा सहभागी अधिकाम्सले फिल्म मनपरेको प्रतिक्रिया दिएका थिए ।
गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’ पनि आजैबाट प्रदर्शनमा आएको छ । प्रकु पाण्डेको निर्देशन रहेको फिल्मले ग्रामीण दम्पतीको प्रेम र सामाजिक परिवेशलाई समेटेको छ । फिल्ममा विजय बराल र वर्षा राउतको मुख्य भूमिका छ ।
फिल्ममा विजय र बर्षाको अलावा मेक्सम गौडेल, प्रकाश घिमिरे र सरिता गिरी र बाल कलाकारहरू नरिन थापा र मन्सु सापकोटा लगायतको अभिनय छ । फिल्मको कार्यकारी निर्माता सागर ज्ञवाली हुन् । फिल्मको बुधबार साँझ प्रिमिएर गरिएको थियो । प्रिमिएरमा फिल्मले मिश्रित प्रतिक्रिया दिएको थियो ।
गुरुआमा :
आजैबाट प्रदर्शनमा आएको अर्को फिल्म हो ‘गुरुआमा’। प्रेम सोनी सुनारले निर्माण तथा निर्देशन गरेको यस फिल्मले किशोर–किशोरी कसरी दुर्व्यसनमा फस्छन् र यसमा अभिभावकको भूमिका कस्तो हुन्छ भन्ने सन्देश दिन्छ। फिल्ममा दिग्गज कलाकार मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु र सुस्मा थापाको अभिनय छ ।शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्ध सुधार्ने उद्देश्यले फिल्म निर्माण गरिएको निर्देशक सुनारले बताए । प्रेम सोनी सुनारकै कथा रहेको फिल्म सोनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको हो ।