
काठमाडाै । भारत–भुटान सीमावर्ती पश्चिम बंगालको जयगाउँमा नेपालीभाषी कवि हरिभक्त कटुवालको पूर्णकदको सालिक स्थापना गरिएको छ । नेपालीभाषीको बाक्लो बस्ती रहेको तोर्सा चिया बगानस्थित प्राथमिक विद्यालयमा स्थापना भएको सालिकको बुधबार अनावरण गरिएको हाे ।
नेपाली साहित्य प्रतिष्ठान डुवर्सले आयोजना गरेको सालिक अनावरण समारोहमा कवि नरबहादुर दाहाल, डा. सञ्जय वान्तवा, मोहन ठकुरी, कालुसिंह रनपहेंली, सित्तम मोक्तान, पुरु लम्साल, डा.नवराज लम्सालसहित सहभागी थिए । सालिक अनावरण गर्न कटुवालका दुई छोरी जेठी कविता र कान्छी कल्पना क्षेत्री कटुवाल आसामबाट जयगाउँ आइपुगेका थिए ।
१९९२ सालमा भारतको आसाम राज्यको लखिमपुरमा जन्मे–हुर्केका कवि कटुवालको निधन २०३७ सालमा आसामको डिब्रुगढ मेडिकल कलेजमा भएको थियो । २०२० सालदेखि जीवनको अन्तिम घडीसम्मै काठमाडौंमा रहेर साहित्यिक संगत र सिर्जनशीलतामा सक्रिय थिए उनी । काठमाडौंमा २०३६ सालमा चलेको सशक्त अभियान ‘सडक कविता आन्दोलन’ मा पनि उनी सक्रिय थिए ।
रोमान्टिक धाराका सशक्त कविका रूपमा चिनिने कटुवालका कवितासंग्रह ‘यो जिन्दगी खै के जिन्दगी,’ ‘बदनाम मेरा आँखाहरू,’ ‘म मरेको छैन’ (नाटक), ‘स्पष्टीकरण’ (कथासंग्रह), ‘सुधा’ (खण्डकाव्य) लगायतका कृति प्रकाशित छन् । कटुवालका ‘मलाई नसोध कहाँ दुख्छ घाउ,’ ‘पोखिएर घामको झुल्का भरि संघारमा’ जस्ता विम्बात्मक गीतमा स्वरसम्राट नारायण गोपालले स्वर भरेका छन् ।
‘नेपालीभाषीका निम्ति एक सशक्त र साझा बिम्बका स्रष्टा भएकाले हामीले आफैं खर्चको जोहो गरेर कटुवालको सालिक निर्माण गरेका हौं,’ जयगाउँ समाज कल्याण संघका सभापति एवं पत्रकार तिलक कटुवालले भने, ‘यो कार्यले कवि कटुवालको स्मृति गर्ने र नेपाली भाषा–साहित्यको प्रवर्द्धन गर्ने हाम्रो ध्येयमा मद्दत पुर्याउने आशा छ ।’ भारतलाई जोड्ने प्रमुख भुटानी नाका फुन्चोलिङको सीमावर्ती बिन्दुमा रहेको जयगाउँमा आदिकवि भानुभक्त आचार्यसमेतको सालिक राखिएको छ । जयगाउँमै अर्का गोर्खाली सहिद दुर्गा मल्लको सालिक पनि छ । भारतीय सेनाका मेजर मल्ल भारतीय स्वतन्त्रता आन्दोलनमा ज्यान गुमाउने पहिलो गोर्खा सैनिक थिए ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार