
रूपन्देही। जिल्ला अदालत, रूपन्देहीको पहिलो तलामा बाल इजलास कक्ष छ, तर बालबालिकालाई वयस्कसरह अन्य मुद्दाको इजलासमै लगेर सोधपुछ गरिन्छ । इजलास जानुअघि बालबालिका खेल्न, पढ्न र पालो कुर्न मिल्ने गरी कक्ष बनाइएको छ, तर च्यातिएका कुर्सी, असरल्ल सामग्री र धूलोले खेल्ने र बस्ने अवस्था छैन ।
नेपालको कानुनले १० वर्ष वा त्यसभन्दा माथिल्लो उमेर समूहका बालबालिकाले बिजाइँ गरेमा कसुर ठान्छ । सो मुद्दा हेर्न बालबालिका ऐनमा हरेक जिल्लामा बाल अदातलको व्यवस्था हुनुपर्ने उल्लेख छ । कानुनले बाल इजलासलाई पूर्ण रूपमा बालमैत्री र निर्धक्कसँग कुरा राख्न सक्ने बनाउन निर्देश गरेको छ । त्यसअनुसार १५ जिल्ला अदालतमा बालमैत्री इजलास छन् । तर, अधिकांशको अवस्था रूपन्देहीको जस्तै छ । बाल इजलास हुनु र नहुनुमा तात्त्विक फरक छैन । यसबाट बाल न्याय प्रभावित भएको छ ।
पहिले बालबालिकाले गर्ने कसुरजन्य कामलाई अपराध मानिन्थ्यो । मुलुकी अपराध (संहिता) ऐन–२०७४ ले बालबालिकाले अपराध होइन बिजाइँ गर्छन् भनेको छ । बिजाइँ गर्ने वा कानुनविपरीत काम गर्ने बालबालिका कानुनी विवादमा पर्छन् । बालबालिकाविरुद्धको मुद्दा सरकारवादी हो । उनीहरूका मुद्दा सुनुवाइ गर्न हरेक जिल्ला अदालतमा मुख्य वा ज्येष्ठ न्यायाधीशको संयोजकत्वमा बाल इजलास समिति बनेको छ, जसमा एक बाल मनोवैज्ञानिक र समाजसेवीसहित तीन जना हुन्छन् ।
तिनले बालमैत्री वातावरणमा आरोपित बालबालिकाको उजुरी हेर्ने≤ बयान लिने र न्याय निरूपण गर्ने गर्नुपर्छ । नियमतः बाल इजलास अनौपचारिक र मुद्दा गोप्य हुनुपर्छ तर यस्ता विषयलाई वास्ता गरिन्न । आवश्यक जनशक्ति, पूर्वाधार र संस्कार अभावले प्रहरीदेखि अदालतसम्मका न्यायिक प्रक्रिया बालमैत्री बन्न सकेका छैनन् । यही कारण अहिले पनि कानुनी विवादमा परेका बालबालिका सोधपुछमै डराउँछन् । धेरैले खुलेर आफू निर्दोष भएको प्रमाण दिन सकेका छैनन् ।
केन्द्रीय बाल न्याय समितिको सचिवालयअनुसार आर्थिक वर्ष २०७६/७७ मा १ हजार ३ सय ६२ बालबालिकाले बिजाइँ गरे, तिनमा ५३ बालिका थिए । बालबालिकाका १ हजार २२ मुद्दामा ३६ प्रकारका बिजाइँ भेटिए । सबैभन्दा बढी जबरजस्ती करणीमा २८८ र लागूऔषधमा १७९ छन् ।
कानुनले निषेध गरेको काम गरे पनि धेरै बालबालिकाले जानीजानी, नियोजित एवं योजनाबद्ध ढंगले त्यस्तो गरेका हुँदैनन् । यसर्थ उनीहरूलाई सजाय दिने होइन, सुधार्नुपर्छ । यही मान्यताका साथ बालबालिकाले गरेको कानुनी विवादजन्य कामको अनुसन्धान, अभियोजन र सुनुवाइमा विशेष प्रकारको प्रक्रिया अवलम्बन गर्न बाल न्याय प्रणाली अपनाइएको हो । बाल न्यायमा कानुन उल्लंघनलाई अपराध नभई गल्तीका रूपमा हेर्नुपर्छ र छिटोछरितो प्रक्रियाबाट मुद्दा निरूपण हुनुपर्छ । सुनुवाइ बन्द इजलासमा गर्नुपर्छ । घटना र फैसला सार्वजनिक गर्नु हुँदैन । पटके कायम गर्न पाइँदैन । बाल न्याय प्रणालीलाई फौजदारी न्यायप्रणालीभन्दा पृथक् राख्नुपर्छ । तर, यी पक्ष ओझेलमा परेका छन् । फलस्वरूप बालबालिकाका मुद्दा वयस्कसरह वर्षौंसम्म अदालतमा अल्झिरहेका छन् ।
बालबालिका कठोर सजायका भागीदार होइनन्, तसर्थ बाल न्यायले बालबालिकालाई सुधारार्थ उत्तरदायित्व वहन गर्न निर्देश गरेको छ । समुदायमा राख्ने पक्षलाई प्राथमिकता दिएको छ । त्यसका लागि दिशान्तर अर्थात् जेलनेल वा सजायको सट्टा सामाजिक काममा लगाउने व्यवस्था छ । कानुनतः बालबालिकाको मुद्दामा अनुसन्धान गर्ने अधिकारी, सरकारी वकिल र बाल अदालतले मुद्दा दिशान्तर गर्न सक्छन् । अनुसन्धान अधिकारीले दुई हजार जरिवाना र एक महिनासम्म कैद भएको कसुरमा न्यायिक प्रक्रिया बाहिर दिशान्तर गर्न सक्छन् । सरकारी वकिलले तीन वर्षसम्म कैद हुने मुद्दामा दिशान्तर गर्न सक्ने र बाल अदालतले जतिसुकै बिगो, जरिवाना र कैद दिशान्तर गर्न सक्ने प्रावधान छ । यसको अवधि तीन महिनाको हुन्छ ।
प्रहरी, सरकारी न्यायाधिवक्ता र अदालत संवेदनशील हुने हो भने बाल बिजाइँका ५० प्रतिशत मुद्दा दिशान्तर हुने खालका हुन्छन् । तर, संहिता लागू भएको चार वर्ष पुग्दासम्म दिशान्तरको कार्यान्वयन हुन सकेको छैन । यसले गर्दा उनीहरू कसुरको सजाय भोग्न सुधारगृहमा बस्न बाध्य छन् र ती जेलभन्दा खत्तम छन् ।
बाल बिजाइँ गरेका बालबालिकालाई हतकडी लगाउन पाइँदैन, वयस्कसरह हिरासतमा राख्न बन्देज छ, तर यसको पनि कार्यान्वयन भएको छैन । बालबालिकालाई अन्यायमा पर्न नदिन प्रहरीदेखि अदालतसम्मका पूर्वाधार र व्यवहार सुधार्नुपर्छ । बाल न्यायमा भएका सबै प्रावधानलाई कार्यान्वयनमा लैजानुपर्छ । बाल बिजाइँसम्बन्धी कानुनलाई व्यावहारिक बनाइनुपर्छ । कानुनी विवादमा परेका बालबालिकालाई सजाय होइन, सुधार गर्न समाजले समेत सघाउनुपर्छ ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार