प्रधानसेनापति शर्माको सैनिक कुटनीतिलाई प्राथमिकता दिने सङ्केत

काठमाडौं । प्रत्येक राष्ट्रका निम्ति परराष्ट्र नीति जति महत्व हुन्छ, सैनिक र आर्थिक कूटनीति पनि त्यतिकै महत्व रहन्छ’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति प्रभुराम शर्माबाट पनि सैनिक कुटनीतिलाई उच्च प्राथमिकता दिने स्पष्ट सङ्केत देखिएको छ ।

प्रधानसेनापतिमा नियुक्त भई सकल दर्जालाई गर्नुभएको पहिलो सम्बोधनका क्रममा महारथी शर्माले नेपालको बाह्य मुलुकसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन तथा अन्तर्राष्ट्रिय छवि निर्माणमा समेत सेनाले योगदान दिँदै आएको उल्लेख गरे । गोर्खाको बारपाक केन्द्रबिन्दु रहेको विसं २०७२ को भूकम्पपछिको खोजी, उद्धार, उपचार र राहत वितरणमा ४० भन्दा बढी मुलुकका सेनाको संलग्नता र सहभागिताले सैनिक कूटनीति विस्तारका लागि थप प्रेरणा प्रदान गरेको हो ।

प्रधानसेनापति शर्मा भन्छन्, “विश्व शान्ति स्थापना कार्यमा शान्ति सैनिकको तैनाथीका क्रममा छिमेकी राष्ट्रका सेनासँगको सम्बन्ध र सहकार्यबाट मुलुकको छवि निर्माणमा ठूलो योगदान मिलेको छ ।” मुलुकको परराष्ट्र नीतिलाई सहयोग र सफल तुल्याउन तथा सुरक्षा सम्बन्ध र आपसी विश्वास कायम गर्न सैनिक कुटनीतिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सोही सन्दर्भमा विश्वका  कतिपय राष्ट्रले परराष्ट्र नीतिअनुरुप  आवश्यकता र क्षमताका आधारमा एक(अर्का मुलुकमा सैनिक सहचारी पठाउने पुरानै प्रचलन रही आएको छ ।

नेपालको सैनिक कूटनीति निकै प्रभावकारी रहेको पुस्ट्याई विगतको नाकाबन्दी अन्त्य गर्ने सवालमा मात्र नभई कोभिड(१९ सङ्क्रमण रोकथाम प्रतिकार्यमा विदेशी सैनिकबाट ठूलो परिमाणमा स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको घटनाले पुष्टि गरेको छ ।

पूर्व उपरथी हिमालय थापाले सैनिक कूटनीतिक राज्यको परराष्ट्र नीतिकै एक हिस्सा भएकाले सैनिक कुटनीतिलाई चुस्त तुल्याउँदै विस्तार गर्न आवश्यक रहेको सुझाव दिए । उनले भने, “राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीतिको निचोडका रुपमा रहेको सैनिक कूटनीति मुलुकको हित प्रवद्र्धन गर्ने ठूलो अस्त्र हो, यसमा छिमेकी मुलुक धेरै अघि छन्, राम्रो अभ्यास गर्न सकिएमा धेरै फाइदा लिन सकिन्छ, राजनीतिबाट उत्पन्न समस्या निधान गर्न पनि ठूलो योगदान पुर्‍याउन सक्छ ।”

– रासस

फेसबुक प्रतिक्रिया