
काभ्रेपलाञ्चोक ।जिल्लामा खानेपानीका चार बृहत् आयोजना सञ्चालनमा आएका छन् । नमोबुद्ध नगरपालिकामा रु ३० करोड लागतमा बृहत् खानेपानी आयोजना कार्यान्वयको चरणमा छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत नगरपालिकाका वडा नं ६, ७ र ८ सहित भकुण्डे उपत्यकामा सहजरूपमा खानेपानीको सुविधा पुर्याउन उक्त बृहत् खानेपानी आयोजना सञ्चालनको प्रक्रिया अघि बढेको हो । वडा नं ६ स्थित रोशीखोलाबाट लिफ्ट गरी एक हजार ६०० भन्दा बढी परिवारका लागि खानेपानीको व्यवस्थापन गर्न आयोजनाले रु २९ करोड ७८ लाख २० हजार ३६८ बराबरको लागत अनुमान गरेको छ ।
नमोबुद्धका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले नगरको गौरवको आयोजना भएको र यसले ‘एक घर, एक धारा’को अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार आयोजना सञ्चालनार्थ मूलको व्यवस्थापन र उपभोक्ता समिति पनि गठन भइसकेकाले आयोजनाको काम तीव्ररूपमा अघि बढ्नेछ । आयोजना निर्माण सुरु भएको तीन वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ ।
यस्तै मण्डनदेउपुर नगरपालिकामा बृहत् खानेपानी आयोजनाको प्रक्रिया थालिएको छ । यसका लागि पहिलो चरणमा रु ५४ करोडको ठेक्का आह्वान गरिएको हो । गतसालको चैतमा उक्त खानेपानी आयोजनालाई रु एक अर्ब स्वीकृत भएको थियो । मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरिकको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरका १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो ।
उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयसँग प्रतिउपभोक्ता रु एक हजार लिएको छ । नगरसँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु एक करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता समिति अध्यक्ष रामबहादुर तामाङले बताए । उनका अनुसार खानेपानी आयोजना सम्पन्न गर्न हाल बोलपत्र आह्वान गरिएको छ । आयोजनाको बोलपत्रलगायत प्रारम्भिक चरणको प्रक्रियाका लागि हाल नगरपालिकाले रु ५१ लाख ६६ हजार उपलब्ध गराएको छ ।
तामाङका अनुसार ठकेदार कम्पनीको छनोट गरी सम्झौतापछि खानेपानी आयोजना तीन वर्षभित्र सक्नुपर्ने योजना बनाइएको छ । खानेपानी आयोजनाबाट नौ वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुनेछन् । नगरस्थित ७ नं वडाको सोते र १० नंको नारिमखर्क भएर बगेको इन्द्रावती नदीमा इनार बनाएर लिफ्टमार्फत नगरका बासिन्दामा खानेपानी उपलब्ध गराइने योजना बनाइएको विभागका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले बताए । उनले भने, “लिफ्टिङ प्रविधिको यस आयोजनाले पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा खानेपानी उपलब्ध गराइनेछ ।
करिब एक वर्षअघि पाँचखाल नगरपालिकामा बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम थालिएको थियो । भुम्लु गाउँपालिका–१० बिमिरेस्थित इन्द्रावती नदीकिनारमा इनार निर्माण गरी लिफ्टिङ प्रविधिमार्फत खानेपानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष कुमार लामछिानेले बताए। उनका अनुसार पाँचखालका १० वडाका सात हजारलाई खानेपानी पुर्याइनेछ ।
खानेपानी आयोजनाअन्तर्गत सहरी खानेपानी तथा सरसफाइ ९क्षेत्रगत० आयोजना, नगर विकास कोष, नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको उक्त खानेपानी आयोजना रु दुई अर्ब २१ करोडको लागतमा अढाइ वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइएको छ । हाल कार्यान्वयनको चरणमा रहेका आयोजनाअन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा मानिएको छ ।
आयोजना सम्झौताको शर्तअनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । त्यसअनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका हुन् । इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्ग तथा वितरण केन्द्रहरुमा भौतिक निर्माणको काम भइरहेको छ ।
त्यसो त दुई वर्षअघि तेमाल गाउँपालिकामा रु एक अर्ब ३० करोडभन्दा बढीको लागतमा बृहत् खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । उक्त खानेपानी आयोजनाको ९५ प्रतिशत काम सकिएको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताए। तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो ।
नेपाल सरकार, खानेपानी विभाग, गाउँपालिका कार्यालय र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको उक्त आयोजना सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । गतसालको कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि उक्त आयोजनाको काम केही समय धकेलिएको थियो ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार