
म्याग्दी । बेनी नगरपालिका–९ र ५ को सिमानामा पर्ने तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानामा सोह्रौँ शताब्दीका ऐतिहासिक सामग्री भेटिएका छन् ।
ढोलठानामा पार्क (उद्यान) निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा जमिनभित्र मल्लकालिन सामग्रीहरु भेटिएका हुन् । ढोलठाना समेटिएको निलबराह सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष सागर बानियाले पार्क निर्माणका क्रममा भेटिएका प्राचीन सामग्री सुरक्षित रुपमा राखिएको बताए।
तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चट्नी र नुन पिस्ने सिलौटो, झिङगटी, घरका पिल्लर, इटाहरु भेटिएका उनले जानकारी दिए । “जमिनको सतह भित्र तत्कालीन मल्ल राजाका पालाका पुरातात्विक महत्वका सामग्री छन्”, उनले भने, “भेटिएका सामग्रीलाई सुरक्षित रुपमा राखेका छौ । त्यसको सुरक्षा र संरक्षणका लागि वडा, नगरपालिकालाई अनुरोध गरेका छौ ।”
राजबम मल्लको समयमा विसं १६३१ देखि राजाहरु हिउँदका चार महिना बेनी र अरू आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास छ । पर्वत राज्य नेपालमा विलय भएको विसं १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीका रुपमा रहेको थियो । नेपाल एकिकरणपछि दरबार भत्किएकाले त्यहाँभित्र रहेका सामग्रीहरु भग्नावशेषमा परिणत भएका छन् ।
डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा ढोलठानामा सार्वजनिक शौचालय, पदमार्ग र बगैँचा निर्माण गरेर पार्क बनाइएको छ । पार्क बनाउन वन डिभिजन कार्यालयले गत आवमा रु पाँच लाख बजेट विनियोजन गरेको थियो ।
यसैगरी बेनी नगरपालिकाले ढोलठाना पुग्ने सडक स्तरोन्नति, पदमार्ग र प्रतीक्षालय निर्माण गरेको छ । चमचा डिलदेखि ढोलठानासम्म दुई सय मिटर ढुङ्गाको सिँढी चिनेर नयाँ पदमार्ग र प्रतीक्षालय निर्माण गरेको वडाध्यक्ष बेलबहादुर चोखालले जानकारी दिए । उनका अनुसार गत आवमा ढोलठाना जोड्ने सडक स्तरोन्नतिमा नौ लाख, पदमार्ग निर्माण लागि रु चार लाख र प्रतीक्षालय बनाउन दुई लाख बजेट खर्च भएको छ । समुन्द्री सतहदेखि एक हजार सात सय मिटर उचाइमा अवस्थित ढोलठाना पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ ।
पुरातात्विक सम्पदाको साथै धवलागिरि, अन्नपूर्ण, निलगिरि लगायत दर्जनौ हिमाल, सुर्योदयको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। नागबेली परेर बगेको म्याग्दी नदीको साथै पर्वत र बागलुङका बजार तथा बस्ती अवलोकन गर्न पाउनु ढोलठानाको थप विशेषता हो ।












समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार