
जिन्दगी जिउन हिँडेको तिमी
तिमी हिँडिरहनू,
निर्ममताले ओसिएलान् तिम्रा परिचय पत्रहरु
तर नआत्तिनू,
एउटा अञ्जान सहरको अञ्जान गल्लीमा तिमी अञ्जानको कुनै परिचय हुँदैन ।
त्यो हिलोमैलोले छपक्कै छोपेको सडकमा तिम्रा पाउ चिप्लिएलान्,
लाग्लान् मैला दाग
तर तिम्रो पानी झैँ निश्छल मनमा कालो दाग लगाउने हिम्मत कुनै सडकको कुनै बाटोमा हुनेछैन ।
आवेगमा चलेको हुरीले कति क्षति पु-याउँछ तिमीलाई थाहा छ
त्यसैले तिमी सुस्तरी चल्नू,
यति सुस्तरी कि तिमी हिँड्दा तिमीभन्दा तलको जमिनलाई
आफू कुल्चिएको आभास नहोस् ।
तिमी आशा पोतिएका एक थान वस्त्र बोकेर हिँड्नू
कसैले निराशावादी प्रश्नचिह्न ठड्याइदिए भने फेरिदिनू त्यो वस्त्र !
बादलले आशा बोकेर आकाशमा नभौँतारिएको भए ,
कहाँ भेट्थ्यो पहाड, कहाँ बन्थ्यो पानी
अनि कहाँ आइपुग्थ्यो धर्ती भेट्न !
तिमी हिँडिरहनू , बगेजस्तै गरी !
जबसम्म तिम्रा पैताला अनगिन्ती ढुङ्गाको चोटले गल्दैन ,
जबसम्म तिम्रो घाँटीले मरूभूमिमा छटपटाएको चराले जस्तो प्यास भेट्दैन ,
जबसम्म दलदलमा भासिएको तिम्रो अस्तित्वले एउटा गतिलो परिणाम भेट्दैन ,
जबसम्म तिमीभित्र चोटको एउटा विशाल महासागर बग्दैन,
अनि बस्
तब तिमी त्यो महासागरबाट एक-एक अञ्जुली उठाउँदै आफ्नो मुहार धोइदिनू
अनि हेर्नू
तिम्रो चम्किलो मुहारको बिम्ब
त्यो विशाल महासागरमा ।
हेर्नू, तिम्रो त्यो अट्टहाँस हाँसो ,
त्यो चोटिलो अञ्जुलीकाे एक थोपा पानीमा
जिन्दगी जिउन हिँडेको तिमी
पुग्नेछौ जिन्दगीले जिन्दगीदेखि हारेको त्यो जमिनमा ,
तिम्रो आगमनको सुइँको पाएर बास्ना छरिरहेका फूलहरुमा
तिमी त्यहाँ-त्यहाँ पुग्नेछौ ,
जहाँ-जहाँ जिन्दगीसँग तिम्रो भेट हुनेछ
तिमी हिँडिरहनू !!













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार