
काठमाडौं । शुक्रबार मदन पुरस्कार गुठीले २०७७ को मदन पुरस्कारका लागि ९ पुस्तकको ‘श्रेष्ठ सूची’ सार्वजनिक गरेको छ । गुठीले गत वर्षभरि प्रकाशित २२२ पुस्तकबाट अन्तिम ९ पुस्तकलाई चयन गरेको हो ।
लकडाउनले साहित्य र पुस्तक प्रकाशन बजार सुस्ताएको वर्ष भए पनि मदन पुरस्कार घोषणाले बजारमा माहाैल सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
२०१३ सालमा मदनशमशेर जबराको नाममा स्थापना भएको मदन पुरस्कार अहिले चार लाख रुपैयाँ राशिको रहेको छ । अघिल्लो वर्ष चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ ले यो पुरस्कार प्राप्त गरेको थियो ।
यस वर्षका ९ पुस्तक के–के हुन् र कस्ता छन् त ?
१. एकलव्यको देब्रे हात
गिरि श्रीस मगरको दोस्रो कवितासंग्रह ‘एकलव्यको देब्रे हात’ बागी कविताहरूको सँगालो हो । शीर्षक नै प्रतीकात्मक रहेको यस कवितासंग्रहमा चलिरहेको राज्यसत्ता, जातसत्ता, धर्मसत्ता र रुढी परम्परालाई बिम्बात्मक शैलीले प्रहार गरिएको छ । बुटवल बसेर इन्जिनियरिङको काम गर्दै आएका गिरि श्रीसको कवितासंग्रह ‘बुकहिल पब्लिकेसन’ले प्रकाशन गरेको हो ।
२. करिया
‘रक्तकुण्ड’ उपन्यासबाट चर्चामा आएका कृष्ण अविरलको उपन्यास करियामा दासमोचनको कथा उठाइएको छ । पुस्तक प्रकाशन संस्थासँग पनि आबद्ध अविरल दुई दशकदेखि साहित्यिक लेखनमा सक्रिय छन् ।
उपन्यासमा करियाका दुःखदेखि करिया मोचनका लागि चन्द्रशमशेरलाई उत्प्रेरित गर्ने पृष्ठभूमिका चरित्रसम्म समेटिएको छ । लेखक अविरलले यसलाई खोज–अनुसन्धानमा आधारित ‘ऐतिहासिक उपन्यास’ दाबी गरेका छन् ।
३. कल्प-ग्रन्थ
वर्ष २०७७ मा सर्वाधिक चर्चामा रहेको पुस्तक हो, कल्प–ग्रन्थ । २ हजार २१ रुपैयाँ मूल्य राखेर अग्रिम बुकिङ गरी किन्नुपर्ने यो पुस्तकमा ६५ थान कथा समेटिएका छन् । प्रयोगशील लेखन रुचाउने कुमार नगरकोटीले संग्रहमा सामान्य कथादेखि, चित्रकथा, इन्स्टलेसन कथासम्म समावेश गरेका छन् । ‘बुकहिल’ले प्रकाशन गरेको कल्प–ग्रन्थ नगरकोटीको दशौं पुस्तक हो । पुस्तक गत असार महीनामा मात्र पाठकको हातमा पुर्याइएको थियो ।
४. नृत्याक्षर विज्ञान
नृत्यका सिद्धहस्त मानिने नृत्य निर्देशक भैरवबहादुर थापाले नृत्य विज्ञानमा केन्द्रमा राखेर लेखिएको पुस्तक हो, ‘नृत्याक्षर विज्ञान’ । सात दशक कला तथा नृत्य क्षेत्रमा सक्रिय थापा अभिनेत्री भुवन चन्दका पिता समेत हुन् । ८० वर्ष कटेका थापाको पुस्तकमा शास्त्रीयदेखि, लोक तथा आधुनिक नृत्यसम्मको चर्चा गरिएको छ ।
५. फिलिङ्गो
प्रभा बरालको उपन्यास फिलिङ्गोमा नारी पात्रलाई केन्द्रमा राखी विवाह, प्रेम, मातृत्व र महिला शक्तिको विषय सघन रूपले उठाइएको छ । परिवार, समाज, धर्म, संस्कृति लगायत अनेक नाममा महिलामाथि गरिने विभेदका यी शृंखला कहिलेसम्म भन्ने मूल प्रश्नमा उपन्यास लेखिएको छ । बरालको यसअघि गजल, कविता र बाल कवितासंग्रह प्रकाशित छन् ।
६. फुलाङ्गे
दार्जीलिङमा बसेर कविता, कथा र पत्रकारितामा सक्रिय युवा सर्जक लेखनाथ क्षेत्रीको फुलाङ्गे उपन्यासले विधवा विवाहको कुरा उठाएको छ । दार्जीलिङको सन् १९८६ को गोर्खाल्यान्ड आन्दोलन र त्यसबेलाको समाज उपन्यासमा चित्रित छ । क्षेत्रीका दुई कवितासंग्रह ‘बाउको पसिना’ र ‘अक्षर अनप्लग्ड’ तथा भारतीय पत्रकार रविश कुमारको ‘द फ्री भ्वाइस’ को ‘मुक्त आवाज’ शीर्षकको नेपाली अनुवाद पुस्तक प्रकाशित छ । उपन्यास ‘सांग्रिला बुक्स’ले प्रकाशन गरेको हो ।
७. मोक्षभूमि
केशव दाहालको पहिलो उपन्यास मोक्षभूमिमा खस राज्यमा भएको दासमोचनको कथा उठाइएको छ । दास–दासीहरूलाई कसरी मुक्त गरियो र उनीहरूले स्वाधीन जीवनका लागि कसरी संघर्ष गरे भन्ने मूल विषयमा उपन्यास केन्द्रित छ । खस राजा क्राचल्लदेवको पालामा जुम्लाको सिंजामा भएको दासमोचनको घटना उपन्यासको मूल विषय हो । विवेकशील साझा पार्टीमा आबद्ध दाहालको उपन्यास ‘किताब पब्लिसर्स’ ले प्रकाशन गरेको हो ।
८. रमिते
युवा लेखक एवं गायक जेसन कुँवरको ‘रमिते’ नेपाली साहित्यमा चलिरहेको उपन्यासभन्दा बिल्कुलै भिन्न शैली र कथामा लेखिएको उपन्यास हो । नाइट ब्यान्डका गायक रहेका कुँवरले रमितेमा काल्पनिक कथाको सहारामा नेपाली माटोकै कथा भनेका छन् । ‘रेडपाण्डा’ले प्रकाशन गरेको पुस्तकको आवरणमा लेखकको नाम छैन । कथावस्तु, भाषा, चित्र र प्रस्तुतिले यो उपन्यासलाई प्रकाशनपछि चर्चा दिलाएको थियो ।
९. लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह
अनुसन्धानकर्ता भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह (सम्वत् १७१९–२०२०)’ इतिहास सम्बन्धी पुस्तक हो । पुस्तकमा लिम्बुवान क्षेत्रका राज्यव्यवस्था र जनजीवनका दस्तावेज (चिठीपत्र, कागजात, शिलालेख) लाई आधार मानेर लेखिएका खोजमूलक लेख समेटिएको छ । धरानका इङ्नामले यसअघि पनि लिम्बू जातिमाथि खोज–अनुसन्धान गरी पुस्तक लेखेका थिए ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार