मेरा पुराना लेखहरू पढ्नुहुने पाठकहरूलाई म डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका विदेश नीतिको समर्थक होइन भन्ने राम्रोसँग थाहा छ । ग्रीनल्याण्ड कब्जा गर्नेदेखि क्यानडालाई अमेरिकामै गाभ्ने धम्की दिनेसम्म, त्यसैगरी एकतर्फी असाध्यै ठुलो मात्रामा भन्सार महसुल बढाउनेदेखि लिएर असफल इरान युद्धसम्म ट्रम्पका गतिविधि र निर्णयहरू लापरबाही, अराजक मात्रै नभएर गहिरो अस्थिरता फैलाउने खालकै देखिएका छन् ।
यसबारे मैले आफ्नो प्रस्ट धारणा राख्दै आएको छु । यी तमाम निर्णयहरूका बिचमा उनीसँग एउटा महत्त्वपूर्ण क्षेत्रमा भने मेरो साझा धारणा रहन पुगेको छ । त्यस्तो निर्णय सही बुझाइको स्तरमा मात्रै नभएर नीतिगत रूपमा पनि सम्भवतः सही नै हो भन्ने लाग्छ । त्यो हो– अमेरिका–चीन सम्बन्ध ।
ट्रम्पले पछिल्लो समय आफ्नो चीनियाँ समकक्षी सी जिनपिङसँग गरेका अन्तक्रियाहरुमा हामीलाई उनको फरक र दुर्लभ रूप देख्ने मौका मिल्यो । ट्रम्प एकदम आदरभावसहित प्रस्तुत भए । उनको शैली नितान्त भिन्न थियो । उनी सीसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो बनाउन जोड गरिरहेका देखिन्थे ।
तर उता सी जिनपिङ भने औपचारिक, अनुशासित र सामान्य देखिन्थे । उनी कुनैवेला पनि विशेष देखिन खोजेनन् । व्यवहारमा देखा परेको यस्तो गज्जबको असमानताले हामीलाई केही कुरा बताइरहेको छ ।
ट्रम्पलाई केवल शक्तिको चासो छ । उनलाई कुनै मूल्य मान्यता वा विचारधारा भन्दा बेसी आफ्नो प्रभुत्व र त्यसको आधारबारे चिन्ता छ । उनी आफूभन्दा कमजोरहरूसँग त्यही अनुरूपको व्यवहार गर्छन् । युरोपेली साझेदार मुलुकहरूलाई त अपमानपूर्वक जिस्काउँछन् । किनभने युरोपेलीहरु अमेरिकी सुरक्षा सहायता तथा अमेरिकाकै बजारको पहुँचमा निर्भर छन् भन्ने उनलाई थाहा छ । ट्रम्प कमजोरी थाहा पाइहाल्छन् । साथै तुरुन्तै त्यसको उपयोग गरिहाल्छन् ।
तर चीनको सन्दर्भमा भने उनले केही अलग कुराहरू बुझेका छन् । जुन कुरा वासिङ्टनमा रहेका नीति निर्माता लगायत धेरैजसो मानिसहरूलाई स्वीकार गर्नका लागि भावनात्मक रूपमा अप्ठेरो परिरहेको छ । ट्रम्पले बुझेको के हो भने, आर्थिक, प्राविधिक, औद्योगिक र सैन्य लगायत क्षेत्रमा बेइजिङसँग आफ्नै विशाल शक्ति छ । साथै बेइजिङले त्यस्तो शक्तिलाई प्रभावकारी रूपमा प्रयोग गर्न पनि सक्छ ।
तपाईंले हालैको ट्रम्पको चीन भ्रमणलाई सन् २०२१ मा अलास्काको एन्कोरेजमा बाइडेन प्रशासनका अधिकारीहरूसँग उनीहरूका चिनियाँ समकक्षीले गरेको पहिलो बैठकको तुलना गरेर पनि हेर्न सक्नुहुन्छ । त्यो बैठकमा जब अमेरिकीहरूले मानव अधिकार, साइबर हमला एवं अन्तर्राष्ट्रिय व्यवस्थाबारेका सन्दर्भ उठाउँदै टेलिभिजनमै चीनको सार्वजनिक रूपमा आलोचना गर्न थाले, परिस्थिति सामान्य रहेन ।
चिनियाँ तर्फका कूटनीतिज्ञहरू रिसाएर प्रतिक्रिया दिन थाले । यो केबल समाचारहरूमा देखिने आपसी कोकोहोलो जस्तो विल्कुलै थिएन । खासमा गम्भीर खालको कूटनीतिक सन्देश नै थियो ।
धेरै मध्यमार्गी विचार राख्ने डेमोक्र्याट नेताहरू आफूलाई ‘चीनप्रति नरम’ रहेको भनेर चित्रण गरिएला भन्ने त्रासमा हुन्छन् । यही त्रासका कारण उनीहरू प्रायः उत्ताउलो बयानबाजी गरेर आफूलाई जोगाउन खोज्छन् । चर्को भाषा बोलेर एक खालको साङ्केतिक टकराब बढाइदिन्छन् । यस अघिका राष्ट्रपति जो बाइडेन ट्रम्पले आफ्नो पहिलो कार्यकालमा चीन विरुद्ध लगाएका भन्सार शुल्कहरूप्रति आशङ्का व्यक्त गर्थे ।
आफू निर्वाचित भएर आए पश्चात् त्यस्ता शुल्कहरू हटाउने वाचा पनि गर्थे । तर राष्ट्रपति भएपछि भने उनले ती सबै शुल्कहरू करिब करिब कायमै राखेका थिए । त्यति मात्रै नभएर बाइडेनले राष्ट्रपतिका रूपमा कहिल्यै चीनको भ्रमण पनि गरेनन् । उनले सी जिनपिङलाई अमेरिका भ्रमणको निम्तो पनि गरेनन् ।
ट्रम्प प्रशासनले अघि सारेका केही दाबीहरूलाई बाइडेनको टोलीले पनि समर्थन गरेको थियो । सिनजियाङ क्षेत्रमा चीनको गतिविधिले एकखालको नरसंहारको अवस्था सिर्जना भएको भन्ने दाबीलाई उनीहरूले पनि सशक्त रूपमै उठाएका थिए । आरोपमा प्रयोग भएको त्यस्तो शब्दले जर्मनीमा हिटलरले चलाएको ‘होलोकास्ट’ वा रुवान्डामा सन् १९९४ मा भएको नरसंहार जस्ता औद्योगिक स्तरका विनाश अभियानहरू नै जनाउँथ्यो ।
सिनजियाङमा रहेको चिनियाँ जेल तथा पुनर्शिक्षा शिविरहरू क्रूर र भयानक रहेको भन्दै दर्जनौं विद्वानहरूले उइगुरहरू विरुद्ध चलाइएको भनिएको कार्यलाई नरसंहार नै भनेका छन् । तर प्रसिद्ध अखबार ‘इकोनोमिस्ट’ले उल्लेख गरे अनुसार भने त्यहाँको अवस्था यो शब्दले अभिव्यक्त गर्ने प्रकारको र स्तरको चाहिँ थिएन ।
ट्रम्पसँग एक खालको महाशक्ति नै छ । त्यो के हो भने उनीमाथि दक्षिणपन्थी आक्रमण गर्न सकिँदैन । उनी सन् २०१६ को चुनाव अघि चीनको विरोधीका रूपमा देखिए । अमेरिकामा उत्पादन र रोजगारी गुमेको, व्यापार असन्तुलन सिर्जना भएको तथा अमेरिकाको औद्योगिक गिरावटको मुख्य दोष चीनलाई थोपर्दै उनी सत्तामा आए । तर सत्तामा पुगेपछि भने उनको व्यवहारमा फरक देखिन थाल्यो ।
विगतका राष्ट्रपतिहरूसँग तुलना गरेर हेर्दा हामी यो घटनालाई चीनसँग सम्बन्ध सुधार्ने रिचर्ड निक्सन भन्दा पनि रोनाल्ड रेगनसँग तुलना गरेर हेर्न सक्छौँ । रेगन खासमा सोभियत संघको कडा विरोधी थिए तर पछि गएर उनी आफै सम्बन्ध सुधार गर्नमा अघि सरेका थिए ।
आजको दिनमा ट्रम्पले पनि यस्तै उलटफेर गर्न सक्छन् । किनभने उनीसँग यस्तो राजनीतिक आधार तथा कार्यकर्ताहरूको पङ्क्ति छ, जो ट्रम्प जता फर्कन्छन् त्यतै फर्किन तयार छ । ट्रम्पले इरानमा सैन्य कारबाहीका लागि समर्थन गर्ने सङ्केत गरे लगत्तै उनको समर्थनमा रहेका एवं ‘मेक अमेरिका ग्रेट अगेन’ अर्थात् ‘मागा’मा आबद्ध धेरै व्यक्तित्वहरूले तुरुन्तै आफूलाई ट्रपको पक्षमा उभ्याएको परिदृश्य याद गर्न आवश्यक छ ।
अब चीनप्रतिको थप समन्वयकारी दृष्टिकोण किन अर्थपूर्ण हुनेछ भन्नेबारे चर्चा गरौँ । आजका दिनमा हामीले स्विकार्नै पर्ने सत्य के हो भने चीन र सोभियत संघमा धेरै ठुलो फरक छ । एउटा अध्ययनमा गरिएको मापन अनुसार शीतयुद्धको अन्त्यको बेलासम्म आइपुग्दा सोभियत संघको अर्थतन्त्र इटालीको भन्दा सानो थियो । तर त्यसको ठिक विपरित आजको चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो ।
१ सय २० भन्दा बढी देशहरूका लागि प्रमुख व्यापार साझेदार हो । साथै विद्युतीय सवारी साधन एवं ब्याट्रीदेखि ड्रोन हुँदै उन्नत प्रविधिका उत्पादन तथा क्रितृम बौद्धिकता लगायतका क्षेत्रहरूमा पनि एक प्रकारको ‘पावर हाउस’ हो । आजको चीनले अमेरिका, जापान र जर्मनीले संयुक्त रूपमा गर्ने भन्दा बढी औद्योगिक वस्तु उत्पादन गर्छ ।
यस्तो मुलुकमाथि पूर्ण क्षमताको शीत युद्ध सुरु गर्नु भनेको सोभियत सङ्घ विरुद्ध गरेको संघर्ष जस्तो पटक्कै होइन । यतिबेला विश्व ठ्याकै दुई भागमा विभाजित भइसकेको थियो । तर आजको दिनमा हुने त्यस्तो शीत युद्धले वैश्विक अर्थतन्त्रलाई नै ठुलो चोट पुर्याउने निश्चित छ । अमेरिकी उपभोक्ताहरूले उच्च मूल्यको मात्रै नभएर आपूर्ति क्षेत्रमा ठुला झटकाहरुको सामना गर्नुपर्ने हुन्छ ।
अमेरिकी कम्पनीहरूले संसारको सबैभन्दा ठुलो बजारमा आफ्नो पहुँच गुमाउनेछन् । अमेरिकी विश्वविद्यालयहरूले उत्कृष्ट विद्यार्थी गुमाउनुपर्ने हुन्छ । त्यस्तो संघर्षले केवल आर्थिक पीडा मात्रै दिँदैन । संसार नै दुई आक्रामक प्राविधिक तथा भूराजनीतिक कित्तामा विभाजित हुनेछ, जसले बिस्तारै हामी सबैलाई भिडन्ततर्फ लैजान्छ ।
निश्चय पनि चीन र अमेरिका प्रतिस्पर्धी नै हुन । द्विध्रुवीय विश्वमा यसलाई रोकेर सम्भव नै छैन । आउने केही दशकसम्म यी दुई मुलुकहरू आर्थिक, सैन्य एवं सामरिक लगायतका क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका हुनेछन् । हेनरी किसिन्जरको निधनभन्दा केही हप्ता मात्रै पहिले उनले मलाई एउटा सन्दर्भ सुनाउँदै आजको समयमा सहकार्यको खाँचो औँल्याएका थिए ।
उनले सन् १९१४ मा विश्वमा देखिएको अन्धाधुन्ध राष्ट्रवादी प्रतिस्पर्धाका कारण वैश्विक व्यवस्था नै उल्टिएको सन्दर्भलाई चीन र अमेरिका दुवै मुलुकले ख्याल गर्नुपर्ने बताएका थिए ।
अहिले ‘एआई’, ‘साइबर वारफेयर’ र आणविक हतियारको युग जमाना छ । यस्तो बेला आपसी समन्वयका लागि भरपर्दा संरचनाहरूको निर्माण हिजोको तुलनामा अझै धेरै महत्त्वपूर्ण बन्दै गएको छ । अमेरिका र चीनले विभिन्न क्षेत्रमा कडा प्रतिस्पर्धा पनि गर्नुपर्छ । तर त्यसो गर्दै गर्दा व्यापार, वार्ता तथा सहकार्यको ढोका बन्द गर्नु हुँदैन ।
आणविक स्थायित्व, एआई सुरक्षा, महामारीहरू तथा वित्तीय संकट जस्ता समस्यासँग जुध्न आपसी सहकार्य पनि जारी राख्नुपर्छ । शीत युद्धको बखत पनि मस्को र वासिङ्टनबिच हतियार नियन्त्रणबारे वार्ता हुन्थे । आपसमा कडा तनाव वा आक्रामक गतिविधि चलिरहेका बखत पनि उनीहरूबिचको छलफलले दुवै पक्षमा भद्रगोल प्रतिस्पर्धाले आम विनाश ल्याउँछ भन्ने जोखिमको बुझाई झल्काउँथ्यो ।
त्यो सन्दर्भ आज पनि उत्तिकै सत्य छ । ट्रम्प उनको दर्शनमा भन्दा पनि अन्तर्मनको अनुभूतिका कारण यस्तो आधारभूत आवश्यकताको बोध गर्ने ठाउँमा पुगेका हुन भने कम्तीमा यो मुद्दामा उनको व्यावहारिकता अर्थपूर्ण मान्नु पर्छ ।