
सिमकोट । आइतबार रातिदेखिको लगातार परेको अविरल वर्षाका कारण खानेपानीको मुहान पहिरोले बगाएपछि सिमकोटमा खानेपानीको चरम हाहाकार भएको छ । पहिरोले हुमाने तथा छ्याल्दर खोलामा रहेको मुहानलाई बगाएको थियो । अहिले सदरमुकामवासीलाई तीनधारा र सिमसार क्षेत्रमा रहेका धारामा घण्टौँसम्म लाइन बसेर पानी थाप्नुपर्ने अवस्था सिर्जना भएको छ ।
बाढीले बगाएको खानेपानी मर्मतका लागि नेपाली सेना र खानेपानी उपभोक्ता समितिका कर्मचारी मर्मतसम्भारमा लागि परेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार खानेपानीको मुहान मर्मत गर्न अझै एक हप्ता बढी लाग्ने भएको छ । यसैगरी अविरलको वर्षाले खानेपानी तथा सिँचाइका संरचना बाढीले बगाएपछि खार्पुनाथ गाउँपालिका–२ थालीका ३० घरधुरी र सिमकोट गाउँपालिका–१ का २५ घरधुरीले खोलाको धमिलो पानी प्रयोग गर्दै आएका छन् ।
सिमकोट– १ कुम्लिङ गाउँका ती घरपरिवारले प्रयोग गर्दै आएको खानेपानीको संरचनालाई मङ्गलबार राति आएको बाढी पहिराले बगाएको थियो । अहिले खोलामा बगिरहेको धमिलो पानी पिउन बाध्य भएको स्थानीयवासी अविराज हमालले बताए।
खानेपानी, सिँचाइसँगै करिब पाँच हल खेतीयोग्य जमिन बगाएको उनले जानकारी दिए । खार्पुनाथ– २ थालीका स्थानीयवासीलाई खानेपानी लिनका लागि गाउँभन्दा टाढा जानुपर्ने अवस्था सिर्जना भएको स्थानीय मुनसिङ्गे दमाईंले बताए । उनले भने, “गाउँमा निर्माण भएका धारामा पानी आउँदैन, पानी आउने मुख्य मुहान नै बाढीले बगाएको छ । यहाँका ३० घरपरिवारले खानेपानी ल्याउनका लागि गाउँ नजिकका खोलामा गएर धमिलो पानी थाप्नुपर्ने अवस्था छ । ”
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार