
धनगढी । प्रदेशका ७ पहाडी जिल्ला आवतजावत गर्ने लाइफाइनका रुपमा रहेको धनगढी–डडेलधुरा जोड्ने भीमदत्त राजमार्गका दर्जन बढी स्थानमा पहिरो खसेको छ । कतिपय स्थानमा सडक भासिएर यात्रा गर्नै जोखिम छ ।गोदावरीको उकालो सुरु हुने बित्तिकैदेखि खाल्डाखुल्डी, ठाउँठाउँमा भासिएको र पहिरो खसेर ‘धराप’ बनेको सडकमा गाडी चलाउनुपर्ने अवस्था छ । पहाडी जिल्लालाई प्रदेश राजधानी र तराईसँग जोड्ने यो सडकमा दैनिक सरदर ५ सयभन्दा बढी ढुवानी तथा यातायातका साधनहरू ओहोरदोहार गर्छन् ।
घुमाउरो तथा उकालो–ओरालो रहेको धनगढी–डडेल्धुरा राजमार्ग अत्यधिक संख्यामा दुर्घटना भइरहने सडक हो । विगतमा भएका दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा मृतकका परिवारले दुर्घटनास्थल रहेको सडक छेउमा बनाइएका करिब २ सय मृत्युस्तम्भले उसै पनि यात्रीहरूको मन झस्काइरहन्छ । त्यसैमा खाल्डाखुल्डी र भासिएकै सडकमा यात्रा गर्नुपर्दा यात्री थप सशंकित हुने गरेका छन् ।
एक वर्षअघि गोदावरीभन्दा ३ किलोमिटर अगाडिको उकालोमा झण्डै ५० मिटर सडक भासिएको छ । त्यस ठाउँमा अस्थायी रुपमा एकतर्फी सडक खुलाइएको छ । तर अहिलेसम्म मर्मत हुन सकेको छैन । ‘धनगढी–डडेलधुरा खण्डको एक दर्जन बढी स्थानमा यस्तै अवस्था छ,’ यातायात व्यवसायी डबलबहादुर राउतले भने । सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख नरेन्द्र भट्टले त्यस ठाउँमा मर्मतका लागि डेढ करोड रकम विनियोजन गरिएको बताए । गत वर्ष नै मर्मतका लागि बजेट माग गरिएको भए पनि संघीय सरकारले चालू आर्थिक वर्षमा मात्रै रकम छुट्याएकोले काम अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।
वर्षाको समयमा खसेको पहिरो र सडक भासिएकाले दुर्घटनाको जोखिम बढेको व्यवसायीहरू बताउँछन् । ढुवानी व्यवसायी रघुनाथ जैशीले मालबाहक र ठूलो आकारका यात्रुवाहक साधनहरूलाई अझ बढी जोखिम रहेको बताए । प्रदेशकै मुख्य राजमार्ग बिग्रेकोमा वर्ष दिनसम्म मर्मतसुधार नहुनु अनौठो भएको यात्रुहरू बताउँछन् । ‘अब त झन् चाडवाडको बेला आयो, आवतजावत पनि बाक्लो हुन्छ,’ डोटीका सूर्यप्रसाद ओझाले भने, ‘मुख्य राजमार्ग खण्ड त सुधार हुनु पर्ने हो ।’
दसैं–तिहार नजिकिएकाले सडकमा सवारी साधनको चाप बढेको छ । चाडपर्व मनाउनका लागि भारतमा रोजगारीमा रहेका नेपालीहरू घर फर्किने क्रम बढेको छ । सुदूरपश्चिम ट्राफिक प्रहरी प्रमुख एसपी वामदेव गौतम पनि चाडबाडमा बढी सवारी साधन आवतजावत गर्ने भएकाले सडक भासिएकाले दुर्घटनाको उच्च जोखिम रहेको औंल्याउँछन् । सडक डिभिजन कार्यालय महेन्द्रनगरले पहिरोले क्षति पुर्याएको तथा भासिएको गोदावरीदेखि फल्टुडेसम्मको विभिन्न ठाउँको सडक मर्मतका लागि झण्डै पाँच करोड बराबरको बजेट विनियोजन गरेको जनाएको छ । टेण्डर भएर दसैंतिहारपछि मर्मतको काम सुरु हुने कार्यालय प्रमुख भट्ट बताउँछन् ।













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार