
म्याग्दी । प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड लागेको छ । कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड यही असोजको पहिलो सातादेखि खुला गरिएपछि उपचारका लागि यहाँ नुहाउन आउने बिरामीको भीड लागेको हो ।
नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढेसँगै वैशाखको तेस्रो सातादेखि तातोपानी कुण्ड बन्द गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर तातोपानी कुण्ड खुला गर्न अनुमति दिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले असोज पहिलो सातादेखि सर्वसाधारणका लागि खुला गरेको हो ।
पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले उच्च स्वास्थ्य सतर्कता अपनाएर कुण्ड खुला गरिएको र आगामी दिनमा अझै व्यवस्थित बनाउँदै लैजाने पहल सुरु भएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिए । समितिका सचिव केसीका अनुसार कुण्ड खुलेसँगै दैनिक डेढसयदेखि दुईसयको हाराहारीमा बिरामी कुण्डमा नुहाएर रोग निको गराउन आउने गरेका छन् । कोभिडविरुद्धको खोप लगाएको कार्ड वा नेगेटिभ रिपोर्टको प्रमाण देखाएर मात्र कुण्डमा प्रवेश दिइने गरिएको छ ।
केही दिनयता बिरामीको चाप बढ्दै गएपछि कुण्डमा प्रवेश गर्दा अनिवार्यरुपमा माक्स लगाउनुपर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने र भीडभाड गर्न नहुने नियमलाई कडाइका साथ कार्यान्वयन गरिएको केसीको भनाइ छ । अहिले कुण्डमा आउने बिरामीलाई आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए।
अहिले विशेष गरी म्याग्दी र छिमेकी जिल्लाका बिरामी उपचारका लागि यहाँ आएका छन् । टाढाटाढाका बिरामी नआएका भए पनि सङ्क्रमण दर कम हुँदै गएकाले र वातावरण सहज बन्दै गएकाले बिरामी बढ्ने आकलनका साथ समितिले व्यवस्थापन तथा स्वास्थ्य सावधानीका उपायबारेमा सतर्कता अपनाएको व्यवस्थापन समितिले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिकरुपमा नै जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ । विरेनुनको गन्धमिश्रित तातोपानीमा अनौठो किसिमको नुनिलोपना पाइन्छ । त्यस्तो पानी पिउँदै तातोपानी कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टाका दरमा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास गरिन्छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार