सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द

कर्णाली। कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ। सात कर्मचारीमा संक्रमण र अन्य कर्मचारी टे«सिङमा परेपछि बुधबारदेखि अत्यावश्यकबाहेक सेवा बन्द गरेको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिने सेवा भदौ १५ गतेसम्म बन्द गरिएको जानकारी दिए। यस अवधिमा मालपोत विभाग, अदालत, प्रशासन, प्रहरीलगायत अन्तरसम्बन्धित निकायसँग आवश्यक सेवा मात्र सञ्चालन हुने बताइएको छ।

‘कोरोना जोखिम न्यूनीकरणका सबै मापदण्ड पालना गरेर सावधानीपूर्वक सेवा प्रवाह गरिरहेका बेला ठूलो संख्यामा कर्मचारीमा संक्रमण देखियो,’ उनले भने, ‘संक्रमित कर्मचारी अस्पताल र घरमै बसेर स्वास्थ्योपचारमा हुनुहुन्छ, बाँकी कर्मचारीको परीक्षण भएपछि यो संख्या बढ्न सक्छ।’

–रासस

फेसबुक प्रतिक्रिया