
बागलुङ । शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र, भक्तपुरको शय्याबाट ६२ वर्षीय डमप्रसाद घर्तीले टेलिफोनमा भने, “भाइको जीवन बाँच्यो, म यसै धन्य छु ।” उनले अघि थपे, “भर्खर डाक्टरले भेटेर भाइ र तपाईंको स्वास्थ्य अवस्था राम्रो छ भने, धेरै खुशी लागेको छ ।”
जिल्लाको ताराखोला गाउँपालिका–४ का डमप्रसाद र उनको परिवारमा अहिले हराएको खुशी एकाएक फर्किएझैँ भएको छ । भाइ दुवै मिर्गौलाले काम नगरेर थलिएपछि नदुख्ने मन कुन दाइसँग पो हुन्छ र ? डमप्रसादलाई पनि त्यस्तै भइरहेको थियो । वर्ष दिनसम्मको उपचारले बीसको उन्नाइस नभएपछि उहाँका भाइ ५५ वर्षीय ओमबहादुरको शरीरमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भयो । आर्थिक अभियानका माध्यमबाट खर्चको जोहो पनि भयो । कसले मिर्गौला दान गर्ने विषयमा परिवारले सरसल्लाह गरे ।
अन्ततः दाइ डमप्रसाद नै अघि सरे, भाइको जीवन रक्षाका लागि । उनी आफ्नो मिर्गौला भाइलाई दान दिन तयार भए । “भाइलाई र हामी सबै परिवारलाई राम्रो होस् भनेर मैले मिर्गौला दिएँ, यो त मेरो धर्म पनि हो”, डमप्रसादले भने । उनले मिर्गौला प्रत्यारोपणपछि चिकित्सकीय निगरानीमा रहेका भाइ ओमबहादुरलाई छिट्टै पूर्णरूपमा निको होस् भनेर कामनासमेत गरे । डमप्रसादलाई शल्यक्रियाकक्षबाट सामान्य शय्यामा सारिएको छ । उनका भाइ ओमबहादुरको भने सघनकक्षमै विशेष निगरानीसहित उपचार चलिरहेको छ ।
डमप्रसादले आफूलाई आराम हुँदै गएको र स्वास्थ्यमा राम्रो सुधारको महसुस भएको बताए । ओमबहादुरका छोरा जीवनका अनुसार मङ्गलबार मिर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो । चिकित्सक प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले मिर्गौला प्रत्यारोपण गरेको उनले उल्लेख गरे । जीवनले बुबाको स्वास्थ्य अवस्थामा पनि उल्लेख्य सुधार हुँदै गएको बताए । उनले भने, “अझै एक साता अस्पतालमै राखेर बुबाको उपचार हुन्छ, डाक्टरले त्यसपछिको अवस्था हेरेर निर्णय गर्ने भनेको छ ।”
मिर्गौला प्रत्यारोपणका लागि नौ दिनअघि ओमबहादुरलाई केन्द्रमा भर्ना गरिएको थियो । उहाँमा गत वर्ष भदौमा पहिलोपटक मिर्गौलाको समस्या देखिएपछि नियमित डायलासिस हुँदै आएको थियो ।
“बुबाको दुवै मिर्गौला फेल भएपछि पोखराको गण्डकी अस्पतालमा लामो समय डायलासिस ग-र्यौं”, छोरा जीवनले भने, “अहिले सबैको साथ, सहयोगबाट मिर्गौला प्रत्यारोपण गर्न सफल भयौँ ।”
वडा सदस्यसमेत रहेका ओमबहादुरको उपचारमा अर्थाभाव भएपछि स्थानीय नवसिर्जना युवा क्लब र लोकसम्पदा अध्ययन अनुसन्धान अभियानमार्फत रु १७ लाखभन्दा बढी सहयोग जुटेको थियो । क्लबले मात्र रु १५ लाख बढी सहयोग उठाएको अध्यक्ष पूर्णभद्र न्यूरेले बताए ।
देश विदेशबाट स्वतःस्फूर्तरूपमा आर्थिक सहयोग प्राप्त भएको उनको भनाइ छ । हालसम्म रु नौ लाख जति उपचारमा खर्च भइसकेको छ । मिर्गौला प्रत्यारोपण र थप उपचारमा लाग्ने खर्च बेग्लै छ । नेपालमा कुनै पनि व्यक्तिमा मिर्गौला प्रत्यारोपण गर्न परेमा उसका आफन्तले मात्र मिर्गौला दान गर्न पाउने कानूनी व्यवस्था छ ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार