
काठमाडौँ । नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी भएका छन् ।
लिच्छविकालीन मन्दिरमा आज बिहान पुजारी श्रीमद् राजोपाध्याय पूजा गर्न जाँदा राधाका दुई र कृष्णका दुई गरी चार मूर्ति नपाइएपछि चोरी भएको थाहा पाइएको वडाध्यक्ष प्रेमलाल श्रेष्ठले बताए । मन्दिरमा रहेका सुनचाँदी नहराएको तर पित्तल एवं ढलोटबाट बनेका राधा र कृष्णका साना चार मूर्ति चोरी भएका छन् ।
दुई तले मन्दिरको तल्लो तलामा इचङ्गुनारायणको मूर्ति छ । चोर मन्दिरको माथिल्लो तलाबाट छिरेको हुनसक्ने महानगरी प्रहरी वृत्त स्वयम्भूले जनाएको छ । माथिल्लो तलाको ग्रील फोरेर तल्लो तलामा झरी मूर्ति चोरी गरिएको घटनाका विषयमा थप अनुसन्धान भइरहेको वृत्तका प्रहरी प्रमुख मिलन केसीले जानकारी दिए ।
मन्दिरमा रहेका सुन एवं चाँदीका माला भने त्यहीँ भेटिएको उनले बताए । अहिलेसमेत तीन पटक मन्दिरबाट मूर्ति चोरी भएको स्थानीयवासी बताउँछन् । पहिलो पटक चोरी हुँदा चोर समातिएको थियो । दोस्रो पटक मूर्ति नभेटिएपछि नयाँ मूर्ति बनाएर राखिएको थियो । त्यस बेला मूर्तिसँगै मन्दिरका दुई टुँडाल पनि चोरी भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।
भक्त वाइके पाण्डे र सूर्यमान श्रेष्ठले इचङ्गुनारायण मूर्तिको वरिपरि राख्ने गरी करिब आठ मूर्ति चढाएका थिए । ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक, सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मन्दिर भए पनि सुरक्षाको व्यवस्था हुन नसक्दा पटक पटक चोरी हुने गरेको स्थानीयवासी बताउँछन् ।
काठमाडौँ उपत्यकाका चार नारायणमध्येको कान्छो नारायणका रुपमा पुजिने इचङ्गुनारायणमा हरिशयनी एकादशी र हरिबोधनी एकादशीका दिन विशेष मेला लाग्छ । हरिशयनीदेखि हरिबोधनी एकादशीका चार महिनामा पनि मन्दिरमा धेरै भक्तजन आउने गरेकामा गत वर्ष र यस वर्ष भने कोरोना महामारीका कारण केही स्थानीय भक्तजन मात्र आउने गरेका छन् । महामारीका बिच पनि नित्य पूजा आराधना भने जारी रहेको पुजारी राजोपाध्यायले सुनाए ।
– रासस













समाचार
युद्धविरामका बीच अमेरिकाले गर्यो इरानमा आक्रमण
चीनसँग सम्बन्ध सुधार्ने ट्रम्पको कदम सही छ
ट्रम्पको दाबी : इरानसँगको शान्ति सम्झौता अन्तिम चरणमा, होर्मुज पुनः खुल्ने
नेकपाले छाड्यो पोखरी कब्जा गरेर बनाएको भवन, कांग्रेस र एमालेले के गर्लान्?
संसद् वाकआउट गरेर प्रधानमन्त्री बालेनले दिएको सन्देश
३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
प्रधानन्यायाधीश सिफारिसमा एमालेको आपत्ति
सुकुमवासी बस्ती हटाउन थालेसँगै फेरिएको प्रहरीको दैनिकी
नारायणहिटी दरबार क्षेत्रमा पनि प्रदर्शन गर्न नपाइने
अर्थमन्त्री फेरिने हल्लाले सेयर बजार तरंगित, २२०० तल झर्यो बजार